तपाईँ सुन्दै हुनुहुन्छः

संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौं : उपनेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि संसद् परिसर, नयाँबानेश्वरमा सञ्चारकर्मीहरुको प्रश्नमा उपनेता नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरिहरेको र अस्तिको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेकोे जानकारी दिनुभयो ।
उपनेता नेम्वाङले भन्नुभयो, “संसद् अवरोधका सम्बन्धमा हिजो पनि सभामुखसँग मेरो कुराकानी भएको थियो, यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन । राज्य व्यवस्था समितिले ‘टेक अप’ गरेको विषयमा फेरि संसदीय छानबिन समिति गठन गर्नु उपयुक्त हुन्छ कि हुँदैन ?, प्रश्नहरु धेरै छन् ।”
जिल्लामा दलहरुको सहमतिमा मिलाइएकोे विषयमा संसदीय छानबिन समिति गठन गर्नु ठीक हो कि होइन भन्ने आफूलाई लागेको उल्लेख गर्दै उहाँले यस विषयमा कुनै निष्कर्षमा भने नपुगिएको बताउनुभयो ।
यसैगरी, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको छानबिन गर्नुपर्ने माग गर्दा सरकार र सभामुखले नसुन्नु भनेको घटनालाई ढाकछोप गर्न खोजेको हो कि भन्ने आशङ्का बढेको प्रतिक्रिया दिनुभयो ।
प्रमुख सचेतक खाँणले भन्नुभयो, “नागरिकले सरकारबाट सुरक्षाको महसूश गर्न पाउनुपर्छ । सरकारले नागरिकको रक्षा गनुपर्छ, हामी यसकै लागि लडिरहेका छौँ ।”
नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सर्लाही घटनाका सम्बन्धमा सरकारले स्पष्टीकरण दिए पनि संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने प्रतिक्रिया दिनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले संसदीय मूल्य र मान्यतालाई कायम राख्दै जनताको हकहित र अधिकारका लागि संसद्मा आवाज उठाउँदा समेत सुनुवाई नभएको भन्दै आपत्ति जनाउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button