तपाईँ सुन्दै हुनुहुन्छः

पाईपलाईनबाट अलमलेखगञ्ज आईपुग्यो इन्धन

बीरगंज । भारतको पटनाबाट पाईपलाईनबाट परीक्षणका लागि पठाईएको ईन्धन अमलेखगञ्ज आईपुगेको छ ।
पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको परीक्षणका लागि भारतीय आयल निगम आईओसीले हिजो पटना डिपोबाट पहिलोपटक पठाएको डिजेल विहिबार साँझ अमलेखगञ्ज आईपुगेको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।
यसअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएपछि गत मंगलबार भारतीय आयल निगम आईओसीले डिजेल पठाउन अघि पुनः पानी पठाएर पाइपको फोहोर सफा गरिएको थियो । पटनाबाट हालिएको डिजेल विहिबार साँझ अमलेखगञ्ज डिपोमा आएसँगै अब पाईपलाईनको उद्घाटनको मिति तय गरिने यादवले बताउनुभयो ।
आउँदो अगस्ट १५ भित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर पाईपलाईन निर्माण कार्यको शिलान्यास गर्नु भएको थियो ।
मोतिहारीबाट ६९ किमीको दूरीमा पर्ने अमलेखगञ्ज नेपाल–भारत सीमाबाट ३७ किमी टाढा पर्दछ । भारत बिहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको छ ।
भारत सरकारको आर्थिक सहयोगमा बिछ्याइएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट निगमले वार्षिक २ अर्ब रुपैयाँ खर्च जोगाउने यादवले बताउनुभयो ।
यसबाट पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा ईन्धनको चुहावट लगायत समस्या समाधान हुने यादवले दावी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button