तपाईँ सुन्दै हुनुहुन्छः

कैलाश गाउँपालिकामा ७० हजार बिरुवा वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले यो वर्षा मौसममा विभिन्न प्रजातिका ७० हजार बिरुवा वितरण गरेको छ । फलफुल, मसला, डालेघाँसका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारको बृक्षारोपण अभियानलाई सहयोग पु¥याउने तथा गाउँमै आम्दानी बढाउने उद्देश्यका साथ गाउँपालिकाले बिरुवा बितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत कार्यक्रम अनुसार अलैंचीका ४० हजार र जुनारका ९६ हजार बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । यस्तै, सुन्तलाका ६ हजार, कागतीका ३ हजार, लिचीका १ हजार ८ सय, अम्रपाली आँपका ८ सय, माल्द आँपका २ सय, बम्बई आँपका ३ सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले अशोकका १ सय १, टिकका १ सय, चिउरीका ३ हजार, ओखरका २ हजार ५ सय, केराका २ हजार ४ सय, किबीका ५ सय, अनारका १ सय २० बिरुवा वितरण गरिएको छ ।
गाउँपालिकाले वितरण गरेका बिरुवा मध्ये अलैंची, किबी, ओखर, कागती जस्ता प्रजाति राम्रो आम्दानी हुने नगदेबाली हुन् । गाउँपालिकाको भुगोल र हावापानीअनुसार बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।
कैलाश गाउँपालिकाको भँगोलअनुसारका वृक्षरोपणबाट भूक्षय नियन्त्रण हुनुकासाथै आयआर्जनको अवसर समेत हुने उहाँले दावी गर्नुभयो । कृषिप्राविधिकको अध्ययनपश्चातः बिरुवा छनौट गरी सरकारी तथा निजी नर्सरीहरुबाट बिरुवा संकलन गरिएको बताइएको छ । जिल्लाभित्र र बाहिरबाट बिरुवाहरु संकलन गरिएको जानकारी दिनुहुँदै अध्यक्ष लामाले ओखरको बिरुवा हुम्लाबाट ल्याइएको र अलैंचीको बिरुवा इलामदेखि ल्याएको बताउनुभयो । गाउँमा बृक्षा रोपण गरेर युवा जनशक्तिलाई स्वरोजगार बनाउने, भु–क्षय नियन्त्रण गर्ने तथा सरकारको अभियानमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँपालिकाले पर्यटन र कृषिबाटै समृद्धि प्राप्त गर्ने लक्ष्य लिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button