तपाईँ सुन्दै हुनुहुन्छः

आज स्थानीय तहहरुको वजेट आउँदै

मकवानपुर । स्थानीय तहहरुले असार १० गते वजेट ल्याउनुपर्ने कानूनी प्रावधान अनुसार देशका ७ सय ५३ स्थानीय तहहरुले मंगलबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट ल्याउँदै छन् । तर चालु आर्थिक वर्षका लागि देशका सबै स्थानीय तहहरुले असार १० मा बजेट ल्याउन भने सकेका थिएनन् । मकवानपुरमा पनि सबै स्थानीय तहहरुले आजै बजेट नल्याउने भएका छन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये २ स्थानीय तहले मात्र आज बजेट ल्याउन लागेको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाले मात्र आज आर्थिक वर्षको लागि बजेट ल्याउँदै छन् । १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि भने करिब ६ अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा ठूलो वजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि २ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको बताईएको छ । चालू आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको नगरपालिकाले २६ करोड रुपैयाँ बढाएर बजेट ल्याउने तयारी गरेको हो । हेटौंडा उपमहानगरले ६ वटा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । यस्ता योजना प्रदेश सरकारसँगको सहकार्यमा शुरू गर्न लागिएको उपमहानगरले जनाएको छ । हेटौंडाको बस टर्मिनल, कर्रा करिडोर, हेटौंडा चक्रपथ, भ्यु टावर, हेटौंडा उपमहानगरपालिका–८ स्थित चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण, अटो भिलेज निर्माण र कृषि उपजको थोक बजार निर्माण योजनालाई गौरवका योजनाको रूपमा राखेर बजेट ल्याइदै छ । यस्तै जिल्लाको पर्यटकीय नगर थाहा नगरपालिकाले ७५ करोड वजेट ल्याउने तयारी गरेको छ । थाहा नगरपालिकाले अबको आर्थिक वर्षमा ९० प्रतिशत भन्दा माथि खर्च गर्ने दाबी गरेको छ । थाहा नगरपालिका मेयर लवशेर विष्टले वडामा सिलिङ पठाएर बजेट निर्माण गरेको बताउनुभयो ।

यस्तै, मनहरी गाउँपालिकाले ६१ करोड ९९ लाख बराबरको योजना ल्याउने तयारी गरेको छ । मनहरी गाउँपालिकाले चालुतर्फ ३१ करोड ८७ लाख र पुँजीगत तर्फ ३० करोड ११ लाख बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । भने जिल्लाको पुर्वि बकैया गाउँपालिकाले ६० करोडको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाले ल्याएको बजेटको ८० प्रतिशत भन्दा माथि कार्यान्वयन हुने अध्यक्ष दामोदर खनालले बताउनुभयो ।

बाग्मती गाउँपालिकामा ३० करोड बजेट आउने भएको अध्यक्ष सर्केस घलानले बताउनुभयो । मकवानपुर गढी गाउँपालिकाले ५० करोडको बजेट ल्याउने तयारी गरेको अध्यक्ष बिदुर हुमागाईले बताउनुभएको छ । २५ वर्षे विकासको भिजन र आवधिक योजना सहित बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो ।
यस्तै, जिल्लाको इन्द्रसरोवर गाउँपालिकाले भने सबैभन्दा थोरै २९ करोडको बजेट ल्याउने तयारी गरेको अध्यक्ष जीवन लामाले बताउनुभयो । चालु आर्थिक वर्ष २०७५÷०७६ मा २५ करोडको बजेट ल्याएको गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेटको ८५ प्रतिशत भन्दा धेरै कार्यान्वयन गर्ने दाबी गरेको छ । यस्त,ै भीमफेदी गाउँपालिकाले ४८ करोडको योजना ल्याउने तयारी गरको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । ९० प्रतिशत खर्च गर्ने गरी बजेट ल्याउने तयारी गरेको अध्यक्ष लामाले बताउनुभयो ।

जिल्लाको कैलाश गाउँपालिकाले भने ३८ करोडको बजेट ल्याउने गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । अध्यक्ष मोक्तानका अनुसार पुँजीगत तर्फ १७ करोड ७ लाख र चालु तर्फ शसर्त सहित १६ करोड ६३ लाख बजेट आउने तयारी गरेको बताउनुभयो । जिल्लाकै विकट तथा चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिले भने ४५ करोड बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । विकट क्षेत्र भएकोले गाउँपालिकाले बजेटमा पुर्वाधार क्षेत्रलाई बढी जोड दिएर सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले गाँजा विस्थापित गर्ने योजना पनि गाउँपालिकाले बजेटमा राखेको जानकारी दिनुभयो । जिल्लाका सबै स्थानीय तहहरुले २÷४ दिन ढिलो गरि बजेट ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button