तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रविरुद्ध उग्रबामपन्थीदेखि अति दक्षिणपन्थीसम्मको मोर्चाबन्दी : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गणतन्त्र, लोकतन्त्र र संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी शुरु भएको बताउनु भएको छ ।

प्रधानमन्त्रीले आज सिहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरि जनताको शासनकाविरुद्ध अति उग्रबामपन्थीदेखि अति दक्षिणपन्थी प्रतिक्रियाबादीसम्म एकजुट भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभा बैठक अबरुद्ध गर्दै प्रधानमन्त्रीलाई बोल्न नदिएको घटना असंसदीय र अमर्यादित भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्रीले सदनमा बोल्ने समय लिएर रोष्ट्रममा उभिईसकेपछि कांग्रेसले प्रधानमन्त्री भन्दा पहिला आफुले बोल्न पाउनुपर्छ भनेर प्रधानमन्त्रीलाई बोल्न नदिनु बालहठ भएको र यस्तो लोकतन्त्रमा कहीँ नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको उल्लेख गर्नुहुँदै सात सालपछि प्रतिक्रियाबादीहरुले जनपक्षीय शक्तिहरुलाई देखि नसहने र मिल्न नदिने कारणले १७ साल निम्तिएको स्मरण गर्दै लोकतान्त्रिक शक्तिहरु मिलेपछि नै पछिल्ला उपलब्धिहरु प्राप्त भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार लोकतन्त्र, मुलुकको स्वाधिनता, स्वतन्त्रता, स्वायतता, नागरिकको मौलिक हक, प्रेस स्वतन्त्रता र मानवाधिकारप्रति प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले सांस्कृतिक धरोहर र सम्पदाको संरक्षणका लागि गुठी विधेयक ल्याएको तर त्यसैको नाममा भ्रम सिर्जना गरी लोकतन्त्रकै जरा काट्ने प्रयास भएको देखेपछि भूमि सुधार मन्त्रीले थप छलफलका लागि विधेयक फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेका विधेयक बारे संसदमा छलफल गर्ने ठाउँ हुँदाहुँदै माइतिघर मण्डलामा विरोध गर्नु उपयुक्त नभएको बताउनुभयो ।

विगतमा असन्तुष्टीहरुलाई सम्बोधन नगरेकै कारण थुप्रै अवसर गुमेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनबाट आएको अहिलेको नेतृत्व त्यसप्रति सचेत रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा लडेर ल्याएको उपलब्धी जोगाउनका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार देश वनाउने अभियान वोकेर अघि वढेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button