तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्कभएर लगानी गर्न गृहमन्त्रीको आह्वान्

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले उद्योग र व्यवसायीलाई सरकारले सुरक्षा प्रदान गर्ने हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
चितवनको रत्ननगर नगरपालिकाले आयोजना गरेको बृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै गृहमन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षाको जिम्मा सरकारमा रहेको बताउनुभयो ।
उद्योगको विकास नभएसम्म बेरोजगार अन्त्य नहुँने भन्दै गृहमन्त्रीले औधोगिक क्षेत्रको विकास गरी रोजगार सृजना गर्ने योजनामा सरकार रहेको बताउनुभयो । उहाँले देशमै रोजगारी सृजना गरेर विदेशीने युवाहरुलाई रोक्ने योजना रहेको बताउनुभयो । गृहमन्त्री थापाले रोजगार सृजना गर्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताउनुभयो । एकतिर सीप भएर पनि युवाले काम नपाएको अवस्था छ, अर्कोतिर दक्ष जनशक्ति नपाएर उद्योगहरु भौतारिनु पर्ने अवस्था भएकोले बेरोजगार युवा र रोजगारदाताबीच प्रत्यक्ष सम्बाद गराउने र रोजगारीको अवसर सृजना गर्ने मेलाको उद्देश्य भएको जानकारी दिनुभयो । कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका वेरोजगारको संख्या घटाउन मेला गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, नेपाली कांग्रेसका जिल्ला सहसचिव सुर्य अर्याल, राजमोका मेघराज ढकाल, सीटिइभीटीका परियोजना प्रमुख टेकबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button