तपाईँ सुन्दै हुनुहुन्छः

तामाकोशीको लागत बढेर दोब्बर पुग्ने

भुवनप्रसाद आचार्य । निर्माणमा ढिलाई तथा अन्य विविध कारणले मुलुकको सबै भन्दा ठूलो निर्माणाधिन जलविद्यूत आयोजना माथिल्लो तामाकोशीको लागत बढेर दोब्बर पुग्ने भएको छ ।

आयोजना शुरु गर्दा ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई ७३ अर्ब ६८ करोड पुग्ने भएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कूल लागतमा समेत प्रभाव परेको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण अवधिको ब्याजसहित आयोजनको लागत ७३ अर्ब ६८ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

आगामी पुसबाट परीक्षण उत्पादन शुरु गरी चैतभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यका आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान ५१ अर्ब ९४ करोड पुग्ने छ भने सो अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड लाग्नेछ ।

शुरुमा आयोजनाको निर्माण आर्थिक वर्ष २०७३–७४ भित्र सम्पन्न गरी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, लगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको हो ।

आर्थिक वर्ष २०६५–६६मा निर्माण अवधि छ वर्ष हुने अनुमान गरी आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड तय गरिएको थियो ।

आयोजनाको पछिल्लो संशोधित कार्यतालिका अनुसार आगामी चैतभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।

आयोजनामा सरकारले ११ अर्ब आठ करोड, कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमले छ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले दुई–दुई अर्ब गरी कूल ३१ अर्ब आठ करोड ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button