तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले अहिले लिएको बाटोबारे मित्रराष्ट्रलाई अवगत गराउनमा केन्द्रित: परराष्ट्रमन्त्री

काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आसन्न युरोप भ्रमण नेपालको युरोपेली मुलुकहरुसँगको सम्बन्ध थप सुदृढिकरण तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रहरुलाई अवगत गराउने उद्धेश्यमा केन्द्रीत रहने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर भएको परराष्ट्रमन्त्री ज्ञवालीले आज रेडियो नेपाल र नेपाल टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।

जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालको अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सम्बन्ध र ऐक्यवद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रम सहितका विषयलाई उठाउनुहुने परराष्ट्रमन्त्रीले बताउनुभयो ।

जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने र कतिपय नेताहरुसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भैरहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

बेलायत र फ्रान्स दुबै नेपालका पुराना मित्र रहि आएका र प्रधानमन्त्रीको ती दुई राष्ट्रमा हुन लागेको औपचारिक भ्रमणले नेपालको सम्बन्धलाई अझ सुदृढ पार्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्ने तथा नेपालले हासिल गरेका उपलब्धिको परिप्रेक्ष्यमा ती राष्ट्रहरुबाट सहयोगका नयाँ क्षेत्र, खासगरि लगानी तथा व्यापार प्रवद्र्धनमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउने परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button