तपाईँ सुन्दै हुनुहुन्छः

रंगशाला प्रकरण:नेकपा नेता निलम्बित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कँडेललाई निलम्बन गरेको छ । पार्टीले सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई पनि दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ द्वारा विहीबार जारी विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपुर्ती भराउन समेत माग गरेको छ । पार्टीले घटनाप्रति दुःख समेत व्यक्त गरेको छ । नेकपाले धुर्मुस–सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिवद्धता जनाएको छ ।
यस्तै, भरतपुरका तीन वटा वडाका नेताहरुले पनि निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पनि कारवाही गर्न माग गरेका छन् ।
नेकपा वडा नं.१५, १६ र १७ ले घटनामा संलग्नलाई निश्पक्ष छानविन गरी सांगठनिक कारवाही गर्न माग गरेको हो । साथै, रंगशालाको नियमित कार्य संचालनका लागि सहज वातावरण बनाउन फाउण्डेशनलाई आश्वस्त पार्दै आमसमुदायसँग सहयोगका लागि अपिल गरेको छ ।
विज्ञप्तीमा भरतपुर १५ का लावण्य शर्मा, कृष्ण अधिकारी, शान्ता पोखरेल, भरतपुर १६ का बद्री प्रसाद चापागाई, नारायणप्रसाद अधिकारी, ओमबहादुर रावल र भरतपुर १७ का दामोदर पौडेलले हस्ताक्षर गरेका छन् ।
बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा पुगेको एक समूहले रंगशाला निर्माणस्थलमा लगाईएको जस्ताको बार डोजर लगाएर भत्काएका थिए । प्रहरीले घटनामा संलग्न कँडेलसहित १७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button