तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री थापासँग इजरायलका राजदूतको शिष्टाचार भेटवार्ता

सञ्चार तथा सूूचना प्रविधिमन्त्री नैनकला थापासँग सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूूत हनान गोडेर । तस्बिर : रोशन सापकोटा/रासस

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सञ्चार मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल–इजरायलबिचको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको बताइएको छ ।

भेटमा मन्त्री थापाले राजदूत गोडेरमार्फत इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा पनि सहयोग र सहकार्यले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो ।

भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले नेपालको सूचना प्रविधिको क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको मन्त्री थापालाई जानकारी गराउनुभयो । राजदूत गोडेरले नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको स्मरण गर्दै आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button