तपाईँ सुन्दै हुनुहुन्छः

थप २५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय २७

आज पछिल्लोपटक थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज विभिन्न जिल्लाका १८ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुमा १३ जना, बाँकेमा ६ जना, धनकुटामा ५ जना र नवलपरासीको सुस्तामा १ जनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

नेपालमा हालसम्म ३८ जिल्लाका ३ सय ५८ जना पुरूष र ६९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

यसैगरी रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा रहेका गुल्मीका ४१ वर्षीय पुरुषको स्वास्थ्य अवस्था गम्भिर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

हाल सम्म नेपालमा कूल ३५ हजार ४ सय ९४ जनाको पिसीआर तथा ७५ हजार ७२ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८८ जनाको पिसिआर र ३ हजार ६ सय १० जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button