तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा निषेधाज्ञा हटाउने र लकडाउन जारी राख्ने निर्णय

ध्रुव अधिकारी, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षीय वैठकले निषेधाज्ञा हटाउने र व्यवस्थित रुपमा लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

बैठकले लकडाउनलाई पूर्ण पालन गरी कृषि कर्मलाई सुचार गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजिकरण गर्ने, खेतीपातीका लागि सामाजिक दुरी कायम गरी काम सञ्चालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, विउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्लाअधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, मंगलबार देखि वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा विक्री गर्ने निर्णय गरेको छ ।

वैठकमा सञ्चारमाध्यम, सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सञ्जाल मार्फत कोरोना सम्बन्धी सचेतनालाई अझै व्यापकता गर्ने निर्णय गरेको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।

सर्वपक्षीय वैठकमा कोरोना परिक्षणका लागि पिसिआर किटको अभाव रहेकोहुँदा तत्काल स्वास्थ्य मन्त्रालयसँग आवश्यक किटको माग गर्ने निर्णय समेत गरेको हजराले जानकारी दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न वैठकमा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांगे्रस पर्साका अध्यक्ष अजय द्विवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पर्साका प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका श्रीपुर व्यारेकका गणपति, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, औषधी व्यवसायि संघका केन्द्रिय उपाध्यक्ष प्रकाश खण्डेलवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button