तपाईँ सुन्दै हुनुहुन्छः

भेन्टिलेटरमा आगो सल्किँदा रुसमा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ। रुसको सेन्ट पिटर्सवर्गस्थित एक अस्पतालमा आगलागी हुँदा आईसीयूमा भर्ना भएका पाँचजना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लाेले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सङ्कटकालीन मन्त्रालयले अस्पतालमा भर्ना भएका १५० जना बिरामीको उद्धार गरिएको जनाएको छ । घाइतेको संख्या अझै स्पष्ट भइसकेको छैन् । मृत्यु भएका पाँचैजना बिरामी भेन्टिलेटरमा थिए । इन्टरफेक्स समाचार संस्थासँगको कुराकानीमा सेन्ट पिटर्सबर्गका संकटकालीन विभागका एक अधिकारीले प्रारम्भिक अनुसन्धानले उच्च चापको कारण भेन्टिलेटरमा आगो सल्केको बताउनुभएको हो ।
रुसले कोभिड–१९ को संक्रमण सर्ने जोखिममा कडाइपूर्वक लागू गरेको प्रतिबन्ध यसै सातादेखि खुकुलो बनाउँदै आएको छ । खेतीपाती र निर्माणको काम सुरु भइसकेको छ । रुसमा संक्रमित हुनेको संख्या विश्वमै चौथो स्थानमा छन् । सोमबारसम्म रुसमा दुई लाख २१ हजार ३४४ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ । सङ्क्रमितको संख्या अमेरिका, इटाली र बेलायतपछि रुसमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button