तपाईँ सुन्दै हुनुहुन्छः

हात धुने बानीले सरुवा रोगका बिरामी घटे

कञ्चनपुर। कोरोना भाइरसको जोखिम हुन नदिन स्थानीय बासिन्दामा साबुनपानीले मिचीमिची हातधुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको सङ्ख्यामा कमी आएको छ ।
झाडापखाला, स्वासप्रस्वास, मौसमी फ्लुका रूपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्नेलगायतका रोगको सङ्क्रमणमा निकै कमी आएको पाइएको हो ।
गर्मीको मौसम शुरु भएसँगै स्वास्थ्यचौकीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ्दोरूपमा रहने गरेको थियो । स्वास्थ्यचौकीमा सेवा लिन आउने बिरामीमा सरुवा रोगका बिरामीको सङ्ख्या एक–दुई जनामात्रै रहने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
जारी बन्दाबन्दीका कारण वातावरणीय प्रदूषण कम हुँदा मानिसको ओहोरदोहोर हुने क्रम रोकिँदा र हात धुने बानीको विकासले सरुवा रोगको सङ्क्रमणमा कमी आएको लालझाडी गाउँपालिकास्थित देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले जानकारी दिनुभयो ।
गर्मीका महिना शुरु नहुँदै स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामीको चाप थेग्नै नसक्ने हुन्थ्यो उहाँले भन्नुभयो, “साबुनपानीले हात धुने बानीको विकासले भाइरल ज्वरोलगायत सरुवा रोगका बिरामीको सङ्ख्या निकै न्यून अवस्थामा रहेको छ ।” उहाँका अनुसार हालसम्म मौसमी फ्लुका छदेखि १० जनाको हाराहारीमा स्वास्थ्यचौकीमा बिरामी पुगेका छन् । हात धुने बानीको विकासले झाडापखाला हुने बिरामी ७०, स्वासप्रस्वासका ५० प्रतिशत बढी बिरामी कम भएको उहाँको भनाइ छ ।
स्थानीय तहदेखि सामुदायिक वन र सङ्घसंस्थाले स्थानीय बासिन्दाको हात धुने बानीको विकास गर्नका लागि सचेतना फैलाउने कार्यसँगै निःशुल्क साबुन बाँडने कामसमेत गरेका छन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने परिवारलाई उपलब्ध गराएको राहत सामग्रीमा समेत साबुन अनिर्वायरूपमा स्थानीय तहले उपलब्ध गराएका छन् ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट कोभिड–१९ को रोकथामका लागि स्थानीय बासिन्दालाई साबुन उपलब्ध गराउने कार्यसँगै हात धुने तरिकासमेत सिकाइएको बताउनुहुन्छ । यसबाट स्थानीय बासिन्दा कारोना भाइरसको सङ्क्रमणसँगै अन्य सङ्क्रामक रोगबाट बच्न मद्दत पुगेको छ ।
राम्ररी हात धँुदा झाडापखालाका कारण बालबालिकामा देखिने कुपोषणको समस्यासमेत हटेर जान्छ उहाँले भन्नुभयो, “माटोबाट सर्ने जुकाहरुको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । बालबालिकाको मानसिक र शारीरिक विकासमा पुग्ने अवरोधसमेत हटेर जान्छ ।”
औषधि खरिदमा स्थानीय तहले खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ । व्यक्ति र वस्तुलाई छँुदासमेत धेरै सङ्क्रामक रोगहरु सर्ने सम्भावना रहने हुन्छ ।

हाल कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले साबुनपानीले हात धुने कार्यसँगै स्यानिटाइजरको प्रयोग गर्न थालेपछि सङ्क्रमणजन्य रोगहरुको जोखिम हट्दै गएको कृष्णपुर नगरपालिकास्थित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रतन विष्ट बताउनुहुन्छ । सङ्क्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने हुँदा नियमितरूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकी झाडापखाला, हैजा, टाइफाइड, जुका, चुर्ना, छाला, निमोनिया र आँखासम्बन्धी रोगबाट बच्न सकिने उहाँले बताउनुभयो ।
हात अनुहार, आँखा, मुख तथा नाकमा छुँदा रोगको सङ्क्रमण हुने सम्भावना अधिक रहने हुँदा छुनबाट बच्नुपर्ने उहाँको सुझाव छ । बालबालिकामा अधिकरूपमा देखिने निमोनियाको सङ्क्रमणसमेत हाल निकै कम मात्रै देखिन थालेको स्वास्थ्यकर्मीले बताउनुभएको छ । बढदै गएको हात धुने बानीको विकास र व्यक्तिगत सरसफाइमा ध्यान दिइनुका साथै हाइजिनयुक्त खानेकुराको बढ्दो प्रयोगले सङ्क्रामक रोगको सङ्क्रमण दरमा कमी आएको पाइएको छ ।
दिशा गरेपछि, बच्चाको दिशा धोएपछि, खाना खानुअघि र बनाउनभन्दा पहिला, हाछ्युँ वा खोकी गरेपछि कुनै सामान, सार्वजनिक स्थानको सतह छोएपछि, फोहर वा माटो चलाएपछि हात साबुनपानीले धुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
औषधि जफत
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भीमदत्त नगरपालिकाको बसपार्कस्थित भरोसा (कम्युनिटी हेल्थ) मेडिकलका म्याद गुज्रेका औषधि जफत गरेको छ । म्याद गुज्रेका औषधि जफत गरी सञ्चालकलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्र्रसाद उपध्यायले जानकारी दिनुभयो । पहिलोपटकका लागि म्याद गुज्रेका औषधि फेला परेपछि सचेत गराइ छाडिएको छ उहाँले भन्नुभयो, “दोस्रोपटक फेला परे कानूनअनुसार कारवाही गरिने छ ।”
बजार क्षेत्रमा मुख्य किराना पसल, थोक बिक्रेता, आलु गोदाम, एग्रोभेट र मेडिकल स्टोरमा अनुगमनको कार्य गरेको छ । किराना र होलसेल पसलमा मूल्यसूची नराखेको पाइएको र मूल्यसूची राखेका पसलहरुले समेत मूल्य अद्यावधिक नगरी राखेको पाइएपछि पसल सञ्चालकलाई सचेत गराइएको छ ।
बन्दाबन्दीअघि म्याद गुज्रेका सामानलाई नष्ट गराउन लगाउने कार्यसँगै अनुगमन टोलीले बन्दाबन्दी शुरु भएपछि म्याद गुज्रेका सामानलाई अलग्गै राख्न निर्देशन दिइएको छ । पसलमा सामाजिक दूरी कामयम गर्न सचेत पारिएको छ । ग्राहक तथा उपभोक्ताबाट सामाजिक सञ्चाल तथा जिल्ला प्रशासन कार्यालयको टेलिफोनमा ठगिएको गुनासो आएपछि अनुगमनको कार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको नेतृत्वमा भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा कृषि ज्ञान केन्द्रलगायतको टोलीले बिहान छदेखि आठ बजेसम्म अनुगमन गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button