२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी

भुवनप्रसाद आचार्य २०७७ वैशाख १७ गते १३:५१

फाइल तस्बिर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन संघले जहाज चार्टर गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका एक हजार तीन जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको बताउनुभयो ।

वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया र सम्झौता पूरा भइसकेको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित बैशाख १६ गते प्रारम्भिक सम्झौता गरेको जानकारी दिनुभयो ।

पहिलो चरणमा दुई सय ६० जनालाई लैजाने र अन्यको हकमा स्वास्थ जाँच सकेर प्राथमिकताको आधारमा लैजाने गरी प्रकृया अघि बढाएको पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय उडानसम्बन्धी सम्पूर्ण प्रकृया र श्रमिकहरुको स्वास्थ्य जाँचको काम पूरा भए अर्को साताभित्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले बताउनुभयो ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।

अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउ नेपाल सरकारसँग आग्रह गरिएको बताउनुभयो । उनीहरुलाई नेपाल ल्याउन नेपाल सरकारसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच विदेशमा कोभिड–१९ले प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली संघ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सोमबार व्यापक छलफल भएको थियो ।

बैठकमा संघका तर्फबाट उपाध्यक्ष डा.बद्री केसीले विदेशमा अलपत्र परेका चार लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिनुहुँदै फर्किने वातावरण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गर्नुभएको थियो ।

संघको १५ देशका राष्ट्रिय अध्यक्ष सम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आ–आफ्ना धारण राखेको संघले जनाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञावालीले नेपाल सरकार विदेशमा रहेका नेपाली फर्काउन सकरात्मक रहेको बताउनुभएको थियो । मन्त्री ज्ञावालीले भन्नुभयो, ‘अहिले अन्तर्रािष्ट्रयस्तरमै लकडाउन छ, त्यो खुले भएपछि सरकारले प्राथमिकताको आधारमा नेपालीलाई फिर्ता ल्याउने छ ।’

”कागजी प्रकृया पूरा नगरेका, अस्थायी भिषा भएका, गर्भवती महिला र कुवेतलगायतका देशमा आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याइने छ”मन्त्री ज्ञावलीले भन्नभयो, ”अहिले धैर्य गर्नुहोस् सरकार विदेशमा बस्ने नेपालीको समस्यामा चिन्तित छ । लकडाउन खुल्नेबित्तिकै गैरआवासीय नेपाली संघसँग समन्वय गरेर विदेशमा रहेका नेपाली फिर्तालाई प्राथामिकता राखेर सरकारले योजना बनाउने छ ।”

सम्बन्धित

रोल्पामा १० दिन थपियो निषेधाज्ञा 

१७ मिनेट अगाडि घनश्याम के.सी

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

२४ मिनेट अगाडि अजय कुमार झा

राष्ट्रिय जनमोर्चाका सांसद थापा पदमुक्त

२९ मिनेट अगाडि माधव पराजुली

दुर्घटनामा कांग्रेस नेतृ खातुनको निधन

४३ मिनेट अगाडि ध्रुव अधिकारी