तपाईँ सुन्दै हुनुहुन्छः

यार्सागुम्बा सङ्कलनमा रोक

डोल्पा । यार्सागुम्बा सङ्कलन गरेर करोडौँ रकम कमाउने जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणले योपटक त्यो मौका गुमाउँदैछन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेपछि यहाँका सर्वसाधारणको कमाउने माध्यम मात्र गुमेको छैन, जिल्लामा भित्रने करोडौँको राजश्वसमेत गुम्ने भएको छ । वर्षेनी शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज तथा डिभिजन वन कार्यालयले करोडौँ रकम राजश्व तथा प्रवेश शुल्क उठाउँदै आएका थिए ।

बीस वर्षदेखि ठूलो भूगोल भएको जिल्ला डोल्पामा यार्सागुम्बा सङ्कलन गरिँदै आएको भए पनि पहिलोपटक यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला डोल्पामा यार्सागुुम्बा सङ्कलन गर्दा वर्षेनी विभिन्न घटना घट्दै आएका छन् । अघिल्लो वर्ष मात्र धेरैले ज्यानसमेत गुमाएका थिए ।

स्वास्थ्य सेवा कार्यालयले पाटनका विभिन्न ठाउँमा स्वास्थ्य शिविर राखेर सङ्कलकलाई उपचारसमेत गरेको थियो । मृत्युसँग नझुकी अग्ला हिमालमा पैसाको खोजी गर्दै यहाँका स्थानीयवासी वर्षेनी हिमालसँग मितेरी गाँस्दै आएका छन् । यार्सागुम्बा सङ्कलन गर्दागर्दै लेक लागेर वा हिउँ पहिरोमा परेर मानवीय क्षति नभएको कुनै वर्ष छैन । हुने, खाने बिरामी हुँदा पाटनबाट हेलिकोप्टरबाट आफ्ना आफन्त उद्धार गर्छन् भने पहुँच नहुनेहरु मृत्युलाई स्वीकार गर्दै हिमालको काखमा प्राण त्याग्ने गर्छन् ।

डोल्पामा दुई किसिमका वन रहेकाले निकै ठूलो चुनौतीका रुपमा रहेको छ । डिभिजन वन कार्यालयअन्तर्गत सामुदायिक वन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती सामुदायिक वनमा यार्सागुम्बा पाइन्छ । जिल्लामा यार्सागुम्बा पाउने वनको करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्जका क्षेत्र खड्काका अनुसार यार्सागुम्बा सङ्कलन गर्ने वा नगर्ने भन्नेबारेमा वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि अनुमति दिनुपर्ने बताउनुभयो । जिल्लास्तरबाट निर्णय भए पनि विभागको निर्णयसमेत पर्खेर बसेको खड्काको भनाइ छ ।

शे–फोक्सुण्डो निकुञ्जको भूगोल ठूलो भएको र जनशक्ति कम भएकाले यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि चोरी हुने खतरा भएका भने बढेको छ । निकुञ्ज क्षेत्रमा मात्रै हरेक वर्ष सरदर १० हजारभन्दा धेरै मानिस यार्सागुम्बा सङ्कलनमा जान्छन् । अघिल्ला वर्षमा जिल्ला बाहिरकालाई रु तीन हजार, जिल्लाभित्रकालाई रु दुई हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका बासिन्दालाई रु ५०० शुल्क लिएर यार्सागुम्बा सङ्कलनमा प्रवेश अनुमति दिने गरिएको थियो । विगत केही वर्षको तथ्याङ्क हेर्दा राजश्व वर्षेनी बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७१÷७२ मा १३५ केजी, २०७२÷७३ मा १४१ केजी, २०७३÷७४ मा ८५ केजी, २०७४÷७५ मा ११७ केजी र २०७५÷७६ मा ५३.२९ केजी यार्सागुम्बा डोल्पाबाट बाहिर जिल्लामा बिक्रीका लागि चलानी भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाड जानकारी दिएको छ । पछिल्लो समय यार्सागुम्बा घटेको समेत यही तथ्याङ्कले देखाउँछ । शुरुको आर्थिक वर्ष २०७१÷७२ मा १३५ केजीको चलानी पूर्जी दिइएकामा आव २०७५÷७६ मा ५३.२९ केजी निर्यात गर्न चलानी दिइएको तथ्याङ्कले यार्सागुम्बा झण्डै आधा घटेको देखिन्छ ।

जथाभावी सङ्कलन र संरक्षणमा ध्यान नदिने कार्यले यार्सागुम्बा घटेको अनुमान विज्ञको छ । पाटन क्षेत्रमा लगिने पलास्टिकको अत्यधिक प्रयोग तथा फोहरका कारण यार्सागुम्बा घटेको अनुमान जानकारहरु बताउँछन् । आव २०७१÷७२ मा रु तीन करोड २५ लाख ३३ हजार ३५८ राजश्व उठेको देखिन्छ । त्यस्तै आव २०७२÷७३ मा रु एक करोड २९ लाख ३६ हजार २०९, २०७३÷७४ मा रु एक करोड ५४ लाख ७३ हजार ५४४, २०७४÷७५ मा रु दुई करोड ४० लाख ४४ हजार ४९० र आव २०७५÷७६ मा रु पाँच करोड ७१ लाख ९१ हजार ८४५ रकम सङ्कलन भएको तथ्याङ्कमा छ ।

डोल्पामा सामुदायिक वनको सङ्ख्या ५१ रहेकामा यार्सागुम्बा पाइने सामुदायिक वनको सङ्ख्या २५ रहेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महतले जानकारी दिनुभयो । आव २०७०÷७१ मा ६६३ केजी, २०७१ ÷७२ मा ३१९ केजी, २०७२÷७३ मा २४५ केजी, २०७३ ÷७४ मा २१८ केजी र आव २०७४÷७५ मा ४६६ केजी यार्सागुम्बा चलानी पूर्जी दिइएको छ । उहाँका अनुसार २३८ केजी यार्सागुम्बाको आव २०७५÷७६ मा चलानी पूर्जी दिइएको थियो । रु ७१ लाख ५९ हजार ५९० रोयल्टी उठेको थियो । सामुदायिक वनमा पनि २०७० देखि अहिलेसम्म आउँदा आधा यार्सागुम्बा घटेको चलानी पूर्जीको तथ्याङ्कबाट प्रमाणित हुन्छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

११औँ शताब्दीमा निर्मित शे–गुम्बा यही रहेको छ । गुम्बामा तिब्बती बौद्धधर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहनाअनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button