२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रेडियो नेपाल २०७७ वैशाख ११ गते ७:५१

रामपुर-पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ । गाउँपालिकाका दुई हजार ५५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ । गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका समयमा समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दङ्ग छन् ।

यसबाहेक गाउँपालिकाले दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ । तरकारी किन्न किसानकै बारीमा लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै पाल्पाका गाउँगाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ ।

रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उहाँको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् । रामपुरका बेझाड र किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताउनुभयो ।

उहाँले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाउनुभएको छ । उहाँ लकडाउनयता अहिलेसम्म खर्च कटाएर रु एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन बिक्री गरिएको बताउनुहुन्छ ।

कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले बिक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी बिक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र गोडमेल गर्दैमा बित्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर –४ बस्ने दिलबहादुर थापाले बताउनुभयो ।

उहाँले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र बोडी जातका तरकारी लगाउनुभएको छ । उहाँले लकडाउनकै बेला रु एक लाखभन्दा बढीको तरकारी बिक्री गरिसक्नुभयो ।

जिल्लामा दुई हजार १२६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र मुझुङ्ग क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

सम्बन्धित

कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढ्यो

५ मिनेट अगाडि रेडियो नेपाल

रोल्पामा १० दिन थपियो निषेधाज्ञा 

२५ मिनेट अगाडि घनश्याम के.सी

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

३२ मिनेट अगाडि अजय कुमार झा

राष्ट्रिय जनमोर्चाका सांसद थापा पदमुक्त

३७ मिनेट अगाडि माधव पराजुली