तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरी र असिना पानीले बारा, पर्सा, रौतहटमा करोडौँको क्षति

बीरगंज । गए राती आएको हावाहुरीसगै असिना पानीका कारण बारा पर्सा रौतहटमा करोडौँको क्षति पुर्याएको छ । हावाहुरी र असिना पानीले अन्नबाली, फलफुल खेती, नष्ट हुनुको साथै ग्रामिण क्षेत्रमा रहेका दर्जनौँ घरहरुको छानो उडाउनुको साथै भत्काएर ठूलो क्षति पुर्याएको छ ।

हावाहुरी, असिना पानीको कारण पर्साको गुलरीया, लंगडी, मिर्जापुर, मुडली महुवन आसवारीमा तरकारी खेतीमा ठूलो क्षती पुर्याएको छ भने पर्साको विरुवागुठी, गादी, रामबौरीभाठा, महादेवपट्टि तर्फको उत्तरी क्षेत्रमा झण्डै एक दर्जन भन्दा बढी स्थानीय बासिन्दाहरुको घरको छानो उडाइदिएको पिडितहरुले बताएका छन् ।

त्यसैगरी हावाहुरी र असिना पानीले वारामा दर्जनौँ घर भत्काएको छ भने खेतमा लगाएको तरकारी, मकै, लगाएतका बाली नष्ट भएकोे स्थानीय भोला अंसारीले जानकारी दिनुभयो ।

त्यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा गएराति आएको असिना पानीले मकै, तरकारी, आप, फलफुल लगायतका बालिमा ठूलो क्षति पुर्याएको छ भने अधिकांश घरको छानो उडाउनुको साथै असिनाले छानाको खपडा र टायल फुटाउदा ठूलो क्षति भएको रौतहटबाट युवराज खड्काले बताउनुभयो ।

त्यसैगरी रौतहटमा गएरातिको भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एक जना हवलदारसहित चार जना प्रहरी घाइते भएका छन् ।

असिना पानीसहितको हावाहुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठ घाइते भएको सशस्त्र प्रहरी पोष्ट बंकुलका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताउनुभयो ।

घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button