तपाईँ सुन्दै हुनुहुन्छः

अहिले आफ्ना लागिभन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन्, देशको विकास गर्न समस्या छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशको विकासका लागि अहिले उपयुक्त समय भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमूना युवा संसदको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतका शासकहरुको अदूरदर्शिता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन । अहिले आफ्ना लागिभन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।”
प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकूल समय भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ । जनसाङ्खिक लाभको यस अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं । ”
प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्नुहुँदै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिंड्न तयार भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो । अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसँग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button