तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरव्यवस्थापिका सङ्घको महासभामा नेपालको सहभागिता उपलब्धिमूलक : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरव्यवस्थापिका सङ्घको महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताउनुभएको छ । 

स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको १ सय ४९ औँ महासभामा सहभागी भई फर्केपछि आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले महासभामा जलवायु परिवर्तनले नेपाल जस्ता देशलाई पारेको प्रभाव र जोखिम न्युनिकरणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाल सफल भएको बताउनुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष दाहालले महासभामा आफूहरूले नेपालको संविधानले प्रदान गरेका महत्वपूर्ण उपलब्धी शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान प्रविधि र नवप्रवर्तनको सदुपयोगका विषयमा केन्द्रित रहेर सम्बोधन गरेको पनि  बताउनुभएको छ । 

नेपालमा संघ प्रदेश र स्थानीय तहमा महिलाको सहभागिताको विश्व समुदायले प्रशंसा गरेको र यो विश्वका अन्य देशहरूको तुलनामा बढी रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष दाहालले जलवायु परिवर्तनको असरबाट प्रभावित नेपाल जस्ता देशहरूलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने महासभामा ध्यानाकर्षण गराएको बताउनुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दिशामा अघि बढेकाले यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट थप प्राविधिक र योजनागत सहायताका लागि आह्वान गरिएको, नेपालको परराष्ट्र नीति र शान्ति प्रक्रियाका बारेमा विश्व समुदायलाई जानकारी दिनुका साथै लोकतन्त्रको सुदृढीकरणका लागि अन्तर व्यवस्थापिका सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

यस्तै महासभामा सहभागिताका क्रममा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा तुलिया अक्सन, स्वीटजरल्याण्डको संघीय सभाका अध्यक्ष एरिक नुसबाउमर छिमेकी राष्ट्र भारतका लोकसभाका अध्यक्ष ओम विरला, चिनिया प्रतिनिधि मण्डलका नेता ध्यान सुईजन लगायतसँगको उच्चस्तरीय भेटवार्ताहरू गरिएको र त्यस क्रममा संसदीय सम्बन्ध विस्तार र अनुभव आदानप्रदान गर्ने लगायतका विषयमा विशेष कुराकानी समेत भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बताउनुभयो । 

अन्तर व्यवस्थापिका सङ्घको बैठक असोज २७ गते देखि कार्तिक १ गते सम्म स्वीटजरल्याण्डको जेनेभामा सम्पन्न भएको हो भने नेपाल बाट राष्ट्रिय सभाका अध्यक्ष दाहालको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएको थियो । 

यस्तै महासभामा विश्वका १ सय ३० मुलुकबाट सहभागिता रहेको र विभिन्न १५ मुलुकले पर्यवेक्षकका रुपमा महासभामा भाग लिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button