तपाईँ सुन्दै हुनुहुन्छः

खुर्कोटको पुल जडान सकियो, यातायात सञ्चालनको तयारी

तस्विर: मोडुलर प्यानल ब्रिज जोडिएको खुर्कोटको पुल । चिरञ्जीवी मास्के 

सिन्धुली, खुर्कोट । अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम आइतबार बिहान सकिएको नेपाली सेनाले जनाएको छ । 

ब्रिज राख्ने काम सकेर नेपाली सेनाको गाडी वारपार भएको पुल निर्माणको काम गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँले जनाएको छ । पुल जडान सकिएर आवश्यक प्राविधिक परिक्षण गरिएको र सार्वजनिक यातायात सञ्चालनको विषयमा भने सडक डिभिजन कार्यालयले निर्णय गर्ने सेनाको भनाई छ ।

तस्विर: मोडुलर प्यानल ब्रिज जोडिएको खुर्कोटको पुल । चिरञ्जीवी मास्के 

बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले असोज २२ गते बुधवारबाट एमपिवि जडानको काम सुरु गरेको प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो । सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौँ दिनमा असोज ३० गते जडानको प्रारम्भिक काम सकेर दुई जिल्ला जोडेको थियो । तामाकोसी– मन्थली– खुर्कोट सडक अन्तर्गत एडिबीको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधा भागमा वर्षापछिको बाढीले क्षति गरेको हो ।

तीन सय ६० फिट लम्बाइको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोही ठाउँमा एमपिवि जडान गरिएको पुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताउनुभयो । पुलमा राखिएको बेलिब्रिजमा एकतर्फीमात्र यातायात सञ्चालन गरिने छ । पुलको क्षमता करिब २० टनको रहेको जनाइएको छ ।

तस्विर: मोडुलर प्यानल ब्रिज जोडिएको खुर्कोटको पुल । चिरञ्जीवी मास्के 

खुर्कोटको पुलमा क्षति भएपछि दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, खोटाङ लगायतका स्थानीयलाई समस्या भएकोमा सेनाको सक्रियतामा पुल जडानको काम चाँडै सकिएकोले अब आवतजावतमा सहज हुने रामेछाप मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो ।

नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा सकेकोले अब सरकारले तत्कालै सार्वजनिक यातायात सञ्चालनको निर्णय गर्नुपर्ने दोलखा मेलुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकरको भनाई छ ।

तस्विर: मोडुलर प्यानल ब्रिज जोडिएको खुर्कोटको पुल । चिरञ्जीवी मास्के 

पुलमा बेलिब्रिज जडान भई आवश्यक थप प्राविधिक परिक्षण भई रहेकोले सोमवार वा मंगलवारसम्ममा सार्वजनिक यातायात सञ्चालन हुुनसक्ने जनाइएको छ । सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदीप तामाङ पुलको प्राविधिक परिक्षण सकिएपछि सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय हुने बत्ताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button