तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

जनकपुरधाम  । धनुषामा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको धनौजी गाउँपालिका वडा नंं ३ गोर्दाहामा आज बिहान ९ बजे ना ३ ख ९०६५ नम्बरको जन ज्योति ईङ्गलीस वोर्डिङ्ग स्कुलको बसले ठक्कर दिँदा वर्ष ११ की आरोही मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव बरुण बहादुर सिंहले जानकारी दिनुभयो ।

मृतक बालिका सोही गाउँपालिकाको रामजानकी ईङ्गलीस वोर्डिङ्ग स्कुलका छात्रा रहनु भएको प्रहरीले जनाएको छ । बसको ठक्करले गम्भीर घाइते भएकी बालिका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता स्थानीय आक्रोशित समूहले बालिकालाई ठक्कर दिने सो विद्यालयको बसमा आगजनी गरेपछि बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसै गरि धनुषाको हंसपुर नगरपालिका वडा नंं ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको वर्ष २२ को अरविन्द कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

छिमेकीको घरमा रहेको पूजाका लागि जेनरेटर सञ्चालन गर्न विद्युत् जडान गर्ने क्रममा धोकाले ११ हजार भोल्टेजको तार छोएपछि निजको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button