तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको सेवा प्रवाहमा स्वास्थ्य कार्यालय पर्सा प्रथम 

वीरगन्ज ।जनतालाई दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि लगायतका विषयवस्तुका सूचकहरूको आधारमा मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्सा प्रथम भएको छ । 

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशभरिका ८ जिल्लाका स्वास्थ्य कार्यालयले गर्ने कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय पर्सा आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनमा उत्कृष्ट अङ्कसहित स्वास्थ्य कार्यालय पर्सा प्रथम भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहले बताउनुभयो । 

कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय पर्सा ८१.८५ अङ्क सहित प्रथम भएको छ भने ७७.७४ अङ्कसहित स्वास्थ्य कार्यालय सर्लाही दोस्रो र ७५.५२ अङ्कसहित स्वास्थ्य कार्यालय सिरहा तेस्रो भएको छ ।

मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका ८ वटा स्वास्थ्य कार्यालय, ११ वटा प्रादेशीक अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कार्यसम्पादन मूल्याङ्कनमा समावेश गर्दै आएको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको मन्त्रालयस्तरीय मूल्याङ्कन समिति गठन गरेको थियो ।

जनकपुरमा मधेसको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्यमन्त्री सत्रुधन सिंहले प्रथम भएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहलाई प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको छ । 

मधेस प्रदेशमा पर्सा जिल्ला कार्यसम्पादनमा लगातार ३ पटक प्रथम भएको पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button