तपाईँ सुन्दै हुनुहुन्छः

प्याब्सनले आगामी मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । 

प्याब्सनले पत्रकार सम्मेलन गरेर काठमाडौँमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलनमा शिक्षा क्षेत्रको अग्रणी व्यक्तित्व, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरू सहभागी हुने जनाएको छ । 

सम्मेलनमा फिनल्याण्ड र बेलायतका प्रतिष्ठित वक्ताहरूले अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्ने जनाउँदै भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भारत र भियतनामबाट सहभागी हुने निश्चित भइसकेको अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिनुभयो ।

प्याब्सन अध्यक्ष ढुङ्गानाले विद्यालयको स्तर उन्नति, कक्षाकोठाको सुधार, शैक्षिक नेतृत्व विकास र शैक्षिक गतिविधि प्रभावकारी बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

सामुदायिक विद्यालयका शिक्षकहरू समेत सहभागी हुने दुई दिने सम्मेलनमा १२ वटाभन्दा बढी सेसन रहने प्याव्सनले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button