तपाईँ सुन्दै हुनुहुन्छः

वडामै राष्ट्रिय परिचयपत्र वितरण

गुल्मी । गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नागरिकको सहजताको लागी कात्तिक ८ गतेदेखि जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्रलाई वडा तहमै लगेर वितरण गरिने भएको छ । जिल्लामा वडा तहमै गएर विवरण सङ्कलन गरिएका राष्ट्रिय परिचयपत्रको वडामै पुगेर वितरण गर्न लागिएको हो । गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण सङ्कलन भएको थियो । पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मी दरबार र इस्मा गाउँपालिकाका वडामा नै पुगेर कार्ड वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

जिल्लामा हालसम्म १ लाख ९४ हजार ४३२ जनाको विवरण सङ्कलन भएको छ । यसमध्ये १ लाख ६४ हजार ४२३ जनाको कार्ड छपाई भएको छ । प्रशासन कार्यालयबाट हालसम्म ५ हजार ४६१ जनालाई कार्ड वितरण गरिएको छ ।  

राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button