तपाईँ सुन्दै हुनुहुन्छः

क्षति भएका संरचना पुनर्निर्माण गर्न विपद् संवेदनशीलताको अध्ययन गरिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले विपद् संवेदनशील पूर्वाधार निर्माण गर्न अध्ययन प्रक्रिया अघि बढाउने बताउनुभएको छ । 

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री दाहालले गत असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण क्षति भएका संरचना पुनर्निर्माण गर्न विज्ञहरुमार्फत् विपद् संवेदनशीलताको अध्ययन गरिने जानकारी दिनुभयो । 

बाढीपहिरोबाट क्षति पुगेका पुल र सडक मात्रै निर्माण गर्न १५ अर्ब ३० करोड बजेट लाग्ने  जानकारी दिनुहुँदै मन्त्री दाहालले सरकारले विकासका लागि बाधकका रुपमा रहेका कतिपय ऐनहरु संशोधन गर्न लागेको बताउनुभयो । 

उहाँले राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरूमा वन ऐन लागु नुहुने व्यवस्था गरिनुपर्नेमा पनि जोड दिनुभयो । 

बैठकमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सात सय ५३ मध्ये २० वटा स्थानीय तहलाई मात्रै सदरमुकामसँग सडक यातायातले जोड्न बाकी रहेको जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले पछिल्ला समयमा बनेका पुल तथा सडक एक वर्ष पनि नटिक्ने भन्दै त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने, सुकुम्बासी बस्तीलाई व्यवस्थित बताउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button