तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिका लागि नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अपाङ्गमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले नवनिर्मित लिफ्टको उद्घाटन गर्नुभयो ।

आफू निर्वाचित हुनेबित्तिकै अपाङ्गमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएका नगर प्रमुख विष्टले अब अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताउनुभयो । विष्टले अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौँले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिनुभयो । डेढ वर्षमा निर्माण सम्पन्न भएको लिफ्ट आधुनिक र डिजिटल प्रणालीमा आधारित रहेको निर्माण कम्पनीले जनाएको छ । आठ जना मानिस एकसाथ चढ्न सक्ने गरी निर्माण गरिएको लिफ्टमा व्हील चियर पनि अट्छ । नेपालगन्ज उपमहानगरपालिकाको भवन तीन तले छ ।

लिफ्ट सञ्चालनमा आएसँगै अपाङ्गता भएका व्यक्तिहरू खुसी भएका छन् । नेपालगन्ज नगर स्तरीय अपाङ्गता सञ्जालकी हरिकला थापाले धेरै वर्षदेखिको आशा र अपेक्षा पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । लिफ्ट उद्घाटन कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राही लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button