तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनको बर्षाले ठोरीका किसान मारमा

वीरगन्ज । आइतबार र सोमबार बिहान परेको वर्षाका कारण पर्साको ठोरीका किसानहरू मारमा परेका छन् । लगातार २ दिन परेको झरीका कारण सुर्ती खेती, धान खेती र तोरी खेती गर्ने किसानहरूलाई समस्या भएको हो ।

ठोरी गाउँ पालिकामा नै सबैभन्दा धेरै सुर्ती खेती हुने वडा ४ का किसानको सुर्ती लगाएको खेत डुबानमा परेको छ । सुर्ती रोप्ने बित्तिकै पानीले खेत डुबेपछि झण्डै ६० प्रतिशत बिरुवा नष्ट भएको सुर्ती खेती गर्ने किसान कान्छा तामाङले बताउनुभयो ।

पानीले गर्दा सुर्तीको बिरुवा पहेंलो हुने र बिस्तारै कुहिने भएकोले नोक्सानी भएको तामाङको भनाई छ । यस्तै सुर्ती रोप्न खेत तयार पारेर बसेका किसानको खेत डुबान भएपछि फेरि खनजोत गर्नुपर्ने अवस्था आएको किसानहरूको गुनासो छ । एकातिर सुर्ती रोप्न ढिलाइ भएको अर्कोतर्फ फेरि खनजोत गर्दा दोहोरो खर्च हुने अवस्था आएको किसानहरुले बताएका छन् ।

यस्तै पानीको कारण तोरी छर्न तयार भएका किसानहरू समेत मर्कामा परेका छन् । खनजोत गरेर तोरी छर्न तयार पारेको खेतमा पानी जमेपछि समस्या भएको ठोरी गाउँपालिका वडा नम्बर–५ बाघ मोर्चाका किसान रन्जित कार्कीले बताउनुभयो ।

उता सिँचाइ सुविधा भएका क्षेत्रमा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली खेतमा डुबेको छ । दुई दिनदेखि परेको आकाशे पानीका कारण खेतमा काटेर सुकाइएको धान डुबेर किसानहरूलाई चिन्तित बनाएको छ । विशेष गरी ठोरीको वडा नम्बर १ ,२ र ३ का किसानहरुले दशैंलगत्तै काटेर सुकाउन खेतमै छोडेका धान डुबेको हो । किसानले भित्र्याउन ठिक्क पारेको धान खेतमा डुब्दा खेतमा उम्रने डर भएको ठोरीका अगुवा किसान प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button