तपाईँ सुन्दै हुनुहुन्छः

सोह्र कैदीबन्दी स्थानान्तरण 

चितवन । चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरूमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ  तथा अन्यलाई उनीहरूको इच्छाअनुसार स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।  

यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी यहाँ ल्याउँदा चाप बढेको हो । दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ कैदीबन्दी रहेका छन् । यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरूसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । 

“नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी ढुङ्गानाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button