तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माण तथा पुन:स्थापनाको कामलाई तीव्रता दिने परिषद्को निर्णय

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज बसेको बैठकले विपद्बाट प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुन:स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गर्ने गरी समयसीमा तोकेको छ ।

यस्तै बैठकले विपद् पश्चातको खोज, उद्धार तथा राहत वितरण लगायतका कार्यमा संलग्न सबै व्यक्ति एवं संघ संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै बैठकमा २०८० कार्तिक १९ गतेपछिको सम्पूर्ण विपद्का घटनाहरूको समीक्षा समेत गरेको बैठकपछि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिनुभयो ।

यस्तै परिषद्को आज बसेको बैठकमा गत वर्ष देखिको विपद्का घटनामा परी मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी एवं खोज तथा उद्धारका क्रममा खटिई मृत्यु भएका सुरक्षाकर्मी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको र मृतकका परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रधानमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा तीनै तहका सरकारबीच सहकार्य र समन्वय गरी विपद् अघिको पूर्व तयारी एवं विपद् पछिको राहत उद्धार र पुरस्थापनाका कामलाई थप प्रभावकारी बनाउने गरी अघि बढ्ने निर्णय समेत भएको प्राधिकरणका सहसचिव अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button