तपाईँ सुन्दै हुनुहुन्छः

शासन व्यवस्थाको संरक्षण र विकास गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य हो : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको ठूलो त्याग र बलिदानबाट प्राप्त अहिलेको शासन व्यवस्थाको संरक्षण र विकास गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको भएको बताउनुभएको छ । 

नेपाल प्रहरीले ६९ औँ प्रहरी दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले अहिलेको संविधान र राजनीतिक प्रणालीले जनतालाई राज्य शक्तिको मुख्य श्रोतका रुपमा स्वीकार गरेको उल्लेख गर्नुहुँदै यसको रक्षा गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य रहेको बताउनुभयो । 

राजनीतिक अस्थिरताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गराउने उद्देश्यले अहिलेको सरकार गठन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले छिट्टै सरकार परिवर्तन हुँदैछ भन्ने भ्रममा नपर्न सबैसँग आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले विकासको गति सँगै समाजमा अपराधको प्रकृति समेत फेरिँदै गएको उल्लेख गर्नुहुँदै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सक्षम र व्यवसायीक प्रहरी प्रशासन आवश्यक रहेको बताउनुभयो । 

प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप तथा कोरोना महामारीका बेलामा नागरिकको उद्धार राहत र पुनर्स्थापना नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रहरीको श्रोत साधन र क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । 

समारोहमा गृहमन्त्री रमेश लेखकले सूचना प्रविधिको दुरुपयोग गरी हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । 

गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय आतङ्कवाद, आत्महत्या, लागुपदार्थ दुरुपयोग जस्ता विश्वव्यापी प्रभाव पारेका समस्याहरू सँग जुध्न सक्नेगरी नेपाल प्रहरीको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । 

नेपाल प्रहरीले नागरिक र सरकार बीचको पुलको काम गर्ने उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले आउने दिनमा नेपाल प्रहरीले नागरिकको अपेक्षा अनुरुप थप अनुशासित र उच्च व्यावसायिक दक्षताका साथ कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समाजमा शान्ति सुव्यवस्था कायम गरी नागरिकमा कानूनी राज्यको अुनभुति दिन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।  

समारोहमा नेपाल प्रहरीका उत्कृष्ट अधिकृत तथा कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो भने अमर प्रहरीका जेहन्दार विद्यार्थी बालबच्चाहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button