तपाईँ सुन्दै हुनुहुन्छः

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव इटली आधार शिविर झारियो

म्याग्दी । दश दिनअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर इटली आधार शिविर झारिएको छ ।   

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रसियाका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर आज चार हजार मिटर उचाइको इटली आधार शिविर झारिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले एक वटा शव हेलिकप्टरले सिधै काठमाडौँ लगेको र चार वटा शव इटली आधार शिविरमा झारिएको जानकारी दिनुभयो । 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाहरूको टोलीले शव उठाएका थिए । उद्धारमा समन्वय गर्नुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले मौसम अनुकूल भएमा बाँकी चार वटा शव पनि इटली आधार शिविरबाट आजै काठमाडाँै लैजाने तयारी भएको जानकारी दिनुभयो । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरू हेलिकप्टरबाट डोरीमा झुण्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइएम ट्रेकिङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ ९८,१६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button