तपाईँ सुन्दै हुनुहुन्छः

बदलिँदो परिवेशअनुसार प्रहरी सङ्गठनलाई रूपान्तरण गर्न जरुरी: मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेश अनुसार रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ । 

६९ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी सङ्गठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्यकता रहेको औँल्याउनु भएको हो ।‘अपराधहरू बढेर गएका छन् । चुनौतीहरू थपिएका छन् । हाम्रो प्रहरी सङ्गठन बदलिँदो परिवेश अनुसार आफूलाई पनि रूपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढ्दो अपराधलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिँदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’ 

अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उँचो बनेको समेत मुख्यमन्त्री आचार्यले बताउनु भयो ।‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उँचो बनाउन यहाँहरूले गरेको योगदानको उच्च करद गर्न चाहन्छु’उहाँले भन्नुभयो,‘अमर शहीदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैँ निर्वाह गर्ने छ ।’ कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताउनु भयो । अपराधको प्रकृति फेरिदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको समेत बताउनु भयो । 

सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरूलाई समेत पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button