तपाईँ सुन्दै हुनुहुन्छः

टीका लगाउन सर्वसाधारणको चहलपहल

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गा पक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दसैँको टीका खुलेसँगै चहलपहल बढेको हो ।

दसैँको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम सुरु भएको छ ।

महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौँमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ । सडकमा सार्वजनिक सवारी साधनहरू न्यून मात्रमा चलेका छन्भने निजी सवारीको चाप बढी देखिन्छ । नेपाल प्रहरीले दसैँको अवसरमा सुविधा तथा सहज आवतजावतका लागि दुईवटा निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सर्वसाधारणको चहलपहलसँगै दुई पाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारीको चाप बढ्न थालेको छ ।

ट्राफिक व्यवस्थापनमा समस्या नभएको र कुनै प्रकारको अप्रिय दुर्घटना नभएको प्रहरी नायब उपरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीले जानकारी दिनुभयो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button