तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज टी–२० सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

वीरगञ्ज । पर्सा क्रिकेट सङ्घको समन्वयमा वीरगञ्ज युथ स्पोर्टस एकेडेमीले आयोजना गरेको वीरगञ्ज टी–२० सुपर लिग सिजन–३ को क्रिकेट प्रतियोगिताको उपाधि ड्रगन अफ साहिब दरबारले जितेको छ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा वीरगञ्ज ब्लास्टरलाई ४ विकेटले हराउँदै साहिब दरबारले उपाधि जितेको हो ।

वीरगञ्ज ब्लास्टरले दिएको १ सय १३ रनको लक्ष्य साहिब दरबारले १६.२ ओभरमा केवल ६ विकेटको क्षतिमा भेट्टाउँदै उपाधि चुम्यो ।

साहिब दरबारका लागि मनोज गिरीले २८, ऋषि सहनीले २५ र सन्तोष कार्कीले अविजित २४ रन बनाएका थिए ।

बलिङतर्फ वीरगञ्ज ब्लास्टरका लागि अनुज चौहानले ३ तथा सराजुल अहमदले २ र महमद मेराजले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वीरगञ्ज ब्लास्टरले निर्धारित १९.१ ओभरमा अलआउट हुदैं १ सय १३ रनमा समेटिन पुगेको थियो ।

वीरगञ्ज ब्लास्टरका लागि अनुज चौहानले ४७ र रुहुल हकले २९ रन बनाएका थिए । बलिङतर्फ साहिब दरबारका चन्दन रामले ४ तथा वासिम मन्सुरी र परवेज हुसेनले समान २/२ विकेट लिएका थिए ।

प्रतियोगितामा पर्साका ६ वटा क्रिकेट टिमले भाग लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button