तपाईँ सुन्दै हुनुहुन्छः

हनुमानढोकाको दसैँघरमा राखियो जमरा

काठमाडौँ। नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा बिहीबार वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button