तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारी गाउँपालिकामा अस्थायी बाँध मर्मत

बाँके । राप्ती सोनारी गाउँपालिका र सिआरएसको सहकार्यमा कटान भइरहेको ८० मिटर बाँधको अस्थायी मर्मत गरिएको छ। बाँसको टेको लगाएर, नाइलनको जालीमा नाइलनकै बोरामा बालुवा भरेर उक्त मर्मत कार्य गरिएको हो।

बजेट अभाव हुँदा राप्ती सोनारी गाउँपालिकाले खल्ला झगडियामा राप्ती नदीले कटान गरेको बाँध अस्थायी रूपमा मर्मत गरेको हो। जनताको तटबन्ध कार्यालयले स्थायी मर्मत नगरेको कारण गाउँपालिकाले गैरसरकारी संस्थासँगको सहकार्यमा बाँधको अस्थायी मर्मतको काम अघि बढाएको जनाएको छ।

वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुका अनुसार मर्मत कार्यमा १२ हजारभन्दा बढी बालुवा भरेका बोराको प्रयोग गरिएको छ, जसको लागत १२ लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। ‘यो मर्मत प्राथमिक उपचार मात्रै हो, बाँधको स्थायी मर्मत अझै आवश्यक छ।’,उहाँले भन्नुभयो । 

वडाध्यक्ष थारुका अनुसार स्थायी रूपमा करिब पाँच सय मिटर बाँध मर्मत गर्न करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान छ। खल्ला झगडियासँगै विश्वम्भरपुरमा पनि बाँध कटान भइरहेको हुँदा तत्काल मर्मतको आवश्यकता रहेको उहाँले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष तप्त पौडेलले जनताको तटबन्ध कार्यालयले बजेट अभाव देखाएर मर्मत कार्यलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button