तपाईँ सुन्दै हुनुहुन्छः

सात दिनभित्र सडक निर्माण नगरे अनसनमा बस्ने जनप्रतिनिधिको चेतावनी

बाँके । बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडकखण्ड निर्माण नहुँदा आवागमनमा समस्या भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । जीर्ण बन्दै गरेको सडक निमार्णमा ठेक्का लिएको कम्पनीले समयमै सडक व्यवस्थापनको कार्य समापन गर्न नसक्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडकखण्ड निर्माणका लागि विगत लामो समयदेखि  स्थानीयवासी र जनप्रतिनिधिहरूले माग गर्दै आएपनि  सम्बन्धित पक्षले कुनै चासो नदेखाएको स्थानीय बासिन्दाको आरोप रहेको छ । जीर्ण सडकका कारण दैनिक दुर्घटनाको जोखिम भएको बताउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले ७ दिन भित्रै सडक निर्माण नगरे हुलाकी सडकमानै अनसन बस्ने घोषणा गर्नुभएको छ ।

आज सडक विभाग बाँकेलाई सार्वजनिक आह्वान गर्दै उहाँले पटक पटकको अनुरोधलाई बेवास्ता गरेको बताउनुहुँदै सडकको दुरावस्थाका कारण दैनिक रुपमा दुर्घटना हुँदै आएकोले ७ दिनभित्रै सडक निर्माण नगरे हुलाकी सडकमानै अनसन बस्ने बताउनुभएको हो ।

‘राप्ती पुल र सडक निर्माणको ठेक्का लागेको छ, काम कछुवाको गतिमा भइरहेको छ, सडकमा चारैतिर खाल्डाखुल्डी मात्रै छन् । दैनिक सवारी दुर्घटना भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सोमबार सार्वजनिक आह्वान गर्दै भन्नु भएको छ, ‘सडक बनाइदिन सडक डिभिजन कार्यालय बाँकेलाई पटक–पटक आग्रह गर्यौ, तर सडक निर्माण हुनसकेन ।’

हुलाकी राज मार्ग निर्देशनालय नेपालगन्जका प्रमुख लिला भण्डारीले नरैनापुर गाउँपालिकाका अध्यक्षसँग समस्या समाधानका लागि कुराकानी तथा सरसल्लाह भइरहेको बताउनुभयो । उहाँले उक्त सडकलाई ग्राबेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि यथाशीघ्र काम थालिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले हुलाकी सडक जीर्ण बने पछि स्थानीयले सास्ती खेप्नु परेको प्रति चिन्ता व्यक्त गर्दै  राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको उल्लेख गर्नुभयो ।  हुलाकी राज मार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्रै सडकको निर्माण हुने उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button