तपाईँ सुन्दै हुनुहुन्छः

अकबरे खुर्सानीको गाउँ रिब्दीकोट, यस बर्ष ६ करोड बढी आम्दानी हुने

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका अकबरे खुर्सानीको गाउँले परिचित हुँदै गएको छ । रिब्दीकोट गाउँपालिका भित्रका ८ वटा वार्डका करिब १५ सय किसानको बारीबाट यस बर्ष ६ करोड बढी गाउँमा भित्रिने अनुमान रहेको गाउँपालिकाले जनाएको छ ।  

चाडपर्व नजिकिए पनि किसानलाई पाकेको खुर्सानी हार्थोकको सङ्कलन केन्द्र तथा रिब्दीकोट अकबरे खुर्सानी उद्योगमा पुर्‍याउन भ्याइ-नभ्याई छ । किसानलाई घर खर्च चलाउन, चाडवाड मनाउन कुनै समस्या छैन । अकबरे खुर्सानीबाट यहाँका महिला किसानले अझ बढी फाइदा लिँदा उनीहरू आत्मनिर्भर समेत बनेका छन् । अकबरे खुर्सानीको आम्दानीबाट आफु सन्तुष्ट रहेको किसान राधा खनालको भनाई छ । 

मैनादीका किसान जनक आचार्यलेको बारीमा परीक्षणको रुपमा चार बर्ष अघि लगाइएको अकबरे खुर्सानी खेती सफल भएर मूल्य निर्धारण समेत भएपछि गाउँपालिकाले समेत किसानलाई अकबरे खुर्सानी खेतीमा प्रोत्साहन गरेको छ । 

रिब्दीकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायण बहादुर जिसी स्वयम् पनि अकबरे खुर्सानी खेतीमा लाग्नुभएको छ । उहाँ सँगै वर्तमान तथा पूर्व जनप्रतिनिधि समेत अकबरे खुर्सानी खेतीमा छन् । जिसीकै पहलमा रिब्दीकोट अकबरे खुर्सानीको गाउँकै रुपमा परिचय बनाउदै गएको छ । 

अहिले रिब्दीकोटको हार्थोकमा पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उद्योग स्थापना भएको छ । अकबरे खुर्सानी सङ्कलन बजारीकरण तथा किसानलाई भुक्तानीको काम उद्योगले गर्दै आएको छ । अहिले अकबरे खुर्सानीको लागि बजारको समस्या नभएको र जङ्गली जनावरले पनि असर नगर्ने भएकाले किसानको आकर्षण बढेको रिब्दीकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष जिसीले बताउनुभयो । 

अकबरे खुर्सानीको मूल्य सुनिश्चित भएपछि अहिले किसानले प्रतिकिलो २२० रुपैयाँ पाएका छन् । अन्नबालीमा दुख बढी र लगानी समेत उठाउन मुस्किल परिरहेको अवस्थामा यहाँका किसानले अन्नबाली भन्दा धेरै गुणा बढी अकबरे खुर्सानीबाट आम्दानी लिएका छन् । गाउँपालिकाले किसानलाई बिउ तथा प्राविधिक सहयोग गरेको छ । पालिका भरिमा साढे ४ लाख बिरुवा रोपिएको र त्यसबाट ३ लाख किलो खुर्सानी बिक्री हुँदा करिब ६ करोड बढी भित्रिने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । जङ्गली जनावरबाट आजित यहाँका किसान वैकल्पिक नगदे बालीका रुपमा अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button