तपाईँ सुन्दै हुनुहुन्छः

चितवन गोल्डकप : ग्लोरीको दुई गोलमा बुटवल लुम्बिनीको जित

चितवन । जोन ग्लोरीले दुई गोल गरेपछि गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २–० ले पराजित गरेको हो । उसको जितमा जोन ग्लोरी नायक बने । दुवै गोल उनले नै गरेका हुन् ।

खेलमा पहिलो हाफको ३९ औँ मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले नै दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । बाँकी समयमा थप गोल हुन सकेन र बुटवल लुम्बिनी २–० ले विजयी भयो । बुटवलको जितमा दुवै गोल गरेका ग्लोरी म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा भोलि वीरगन्ज युनाइटेड र विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँ भिड्नेछन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।

असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् ।

बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button