तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नु ठूलो राजनीतिक परिवर्तन : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा पूर्व राजाले सबै कार्यकारी अधिकार आफैँ लिन खोज्दा २०६२/०६३ को जनआन्दोलनले विशाल रूप लिएको र अहिलेको परिवर्तन सम्म आइपुगेको बताउनुभएको छ ।

मदनभण्डारी फाउन्डेसनको रजत जयन्ती समारोहलाई आज ललितपुरमा सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्नु ठूलो राजनीतिक क्रान्तिकारी परिवर्तन भएको र यो जनताको बहुदलीय जनवाद जबजको मार्गभित्र रहेको बताउनुभयो ।

वर्तमान अवस्थामा मुलुकको तीनै तहको सरकार र राज्यका संरचनाहरूमा देखिएको महिलाहरूको बढ्दो सहभागिताले सबैलाई उत्साहित बनाएको र यो नयाँ संविधानको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको पनि पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले युवा जनशक्तिको बढ्दो पलायन देशका लागि राम्रो मान्न नसकिने भएकाले अब उत्पादनमुखी अर्थतन्त्रमा लाग्नुको विकल्प नरहेकाले सरकारका साथै हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भएर पनि कृषि वस्तु पनि आयात गरी खानुपर्ने अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुहुँदै कृषिको व्यवसायीकरण र औद्योगिकीकरणकाे माध्यमबाट युवालाई यसतर्फ आकर्षित गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

समारोहमा नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिक दलहरुबीच पर्याप्त छलफल र सहमति भएपछि मात्रै संविधान संशोधन हुने बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले संविधान सभामा सहभागी राजनीतिक दलहरू बीचको सम्झौता र त्यस बेलाको शक्ति सन्तुलनको दस्ताबेजका रुपमा अहिलेको संविधान जारी भएका हुनाले संशोधनका लागि पनि दलहरुबीच अधिकतम सहमति खोज्नुपर्ने बताउनुभयो ।

मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परिवर्तनहरू र जनताको जागरणका लागि फाउन्डेसनले निरन्तर काम गर्दै आएको बताउनुभयो ।

यस्तै कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य डा भेषराज अधिकारी, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, डा. सुशील प्याकुरेल लगायतका वक्ताहरूले जनताको बहुदलीय जनवाद जवज र मदन भण्डारीका योगदानका बारेमा बोल्नुभएको थियो ।

सोही समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फाउन्डेसनको २५ औँ स्थापना दिवसका अवसरमा मदनभण्डारी रूपान्तरण नेतृत्व पुरस्कार २०८० बाट कलाकार रामकृष्ण दुवाललाई सम्मान गर्नुभयो । सो पुरस्कारको राशि ताम्रपत्र सहित एक लाख रुपैयाँ नगद रहेको छ ।

कलाकार दुवालको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ बोलको गीत सदाबहार रुपमा लोकप्रिय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button