तपाईँ सुन्दै हुनुहुन्छः

२१ वर्षपछि इलाका प्रशासन पुनर्स्थापना हुँदा फर्कियो खुसी

नेपालगञ्ज । सशस्त्र द्वन्द्वका कारण विस्थापित बाँकेको दुर्गम क्षेत्र नरैनापुरस्थित इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना भएपछि स्थानीयको खुसी फर्किएको छ । इलाका प्रशासन कार्यालय पुनःस्थापना भएसँगै प्रशासनिक कामका लागि ४५ किलोमिटर टाढा नेपालगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुर्गम सीमान्त बस्ती नरैनापुरमा लामो प्रयास र प्रतीक्षापछि इलाका प्रशासन कार्यालय पुनः स्थापना हुँदा नागरिक खुसी छन् ।

सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालय जस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि सदरमुकाम नेपालगञ्ज सारिएको थियो । त्यसयता नरैनापुरबासीलाई प्रशासनिक कामका लागि नेपालगञ्ज धाउनुपर्ने अवस्था बनेको थियो । जुन निकै कष्टपूर्ण थियो । स्थानीय अब्दुल अजिज खाँले विगत सम्झँदै भन्नुभयो, ‘हिजो दिनभर हिँडेर नेपालगञ्ज पुग्नुपर्ने अवस्था थियो, अब प्रशासन कार्यालय यहीँ आएपछि सहज हुने भयो ।’ खाँ अबको पुस्तालाई निकै सजिलो हुने बताउनुहुन्छ ।

गृह मन्त्रालयले आठ जना कर्मचारी पठाएपछि अहिले त्यहीँबाटै प्रशासनिक काम भइरहेको छ । नरैनापुर गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको हो । यसले स्थानीयको पुरानो दिनचर्या फेरिएको छ । स्थानीय नाबिद आयातुल्ला खाँले पैसा र समय दुवैको बचत हुने भन्दै खुसी ब्यक्त गर्नुभयो । ‘अब घर छेउबाटै सेवा पाउने भएपछि हामी निकै खुसी छौँ,’ खाँले भन्नुभयो । 

२०६० सालमा नरैनापुरको कार्यालय नेपालगञ्ज सारेर जिल्ला प्रशासन कार्यालय बाँकेमै नरैनापुर शाखा खोली प्रशासनिक कार्य हुँदै आएको थियो । तर, लामो प्रयासपछि कार्यालय पुनःस्थापना भएको हो । सबैको निरन्तरको प्रयासपछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको भन्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अब नागरिकलाई निकै सजिलो भएको बताउनुभयो ।

नरैनापुरमा गृह प्रशासनका सबै सुरक्षा इकाई पुगे पनि नेपाली सेनाको ब्यारेक भने अझै नबसेको भन्दै स्थानीयले चासो गरेपछि त्यसका लागि पहल भइरहेको बाँके प्रशासनको भनाई छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले त्यसका लागि पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button