तपाईँ सुन्दै हुनुहुन्छः

शम्भु श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१’ बाट सम्मानित

काठमाडौँ । दृष्टि मिडियाका अध्यक्ष एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ  ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१’बाट सम्मानित हुनुभएको छ । 

आज एक समारोहबिच करेन्ट मिडिया एन्ड रिसर्चका अध्यक्ष प्रदीपा गौतमले श्रेष्ठलाई नगद रु. एक लाखसहित सम्मान गर्नुभएको हो । श्रेष्ठसहित गेहेन्द्रमान अमात्य र रघु घिमिरे पनि सम्मानित हुनुभएको छ । 

२०३८ सालमा नेपाल पोस्टको सहयोग साथ प्रकाशित ‘मायालु’ पत्रिका श्रेष्ठको नाममा दर्ता भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन र नेपाल पोस्टलाई निरन्तरता दिन उक्त पत्रिका श्रेष्ठले सहयोद्धाको रुपमा देवेन्द्र गौतमलाई प्रकाशन गर्न दिनुभएको थियो । 

नेपाल पोस्टको सहयोगमा प्रकाशित मायालु पत्रिका २०३८ सालको ‘गाईजात्रा’ अङ्क तत्कालीन पञ्चायती शासकहरूले प्रतिबन्ध लगाएर गौतम र श्रेष्ठलाई राज्यविरुद्धको अभियोग लगाइएको थियो । २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा नेपाल पोस्टको ठूलो योगदान थियो । 

नेपाल पोस्ट पत्रिकामाथि पटक–पटक प्रतिबन्ध लगाएपछि नेपाल पोस्टको सहयोगसाथ धेरै पत्रिकाहरू निरन्तर प्रकाशित भए । नेपाल पोस्टका सम्पादक गौतम जेल परेपनि ‘नेपाल पोस्ट’ले निरन्तर सङ्घर्ष गर्‍यो । पत्रकारिताकै सिलसिलामा गौतम धेरै पटक जेल परे, मण्डलेहरूको आक्रमणबाट घाइते भएपनि आफ्नो आस्था र निष्ठालाई गौतमले डग्न दिनु भएन । 

आजको कार्यक्रममा श्रेष्ठले प्राप्त गर्नुभएको रु. एक लाख रुपैयाँ इटहरीका पत्रकार पिवी दियालीलाई स्वास्थ्योपचार खर्चका लागि दिने घोषणा गर्नुभएको छ । 

इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक दियालीले हालै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएको छ । उपचारको क्रममा वीर अस्पतालमै रहनुभएका दियाली समाजवादी प्रेस सङ्गठनका संस्थापक हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button