तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री शर्मालाई पितृशोक 

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिव शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । 

उहाँको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिनुभयो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ ।

शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ। उहाँकी श्रीमती पार्वतादेवी पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button