तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति छ । 

बैठकको सुरुआतमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो । आफूहरू परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको उल्लेख गर्नुहुँदै उहाँले पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिनुभयो । उहाँले सो क्रममा पार्टीप्रति जनआकर्षण बढ्दै गएको पाएको बताउनुभयो ।

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने जानकारी दिनुभयो । अब केही दिन र महिनाका लागिभन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उहाँले सल्लाहकार र अग्रजहरूलाई आफूले देखेका र भोगेका अनुभवसहित परामर्श दिन आग्रह गर्नुभयो ।

बैठकमा सहभागीका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । केन्द्रीय समिति बैठकको तयारीस्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

प्रवास प्रदेशअन्तर्गतको अमेरिका र युरोप सङ्गठन समितिको बैठक बाँकी रहेको पार्टी कार्यालयले जनाएको छ । परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button