तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना र सर्पदंश उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्धारलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपाल न-४२ रिजर्भ गण, हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि एम्बुलेन्स हस्तान्तरण भएको हो। अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्सलाई सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्धारका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा सञ्चालन गर्न सहज हुने बताउनु भयो । उहाँले पालिकामा ७–८ वटा एम्बुलेन्स भए तापनि जनशक्तिको अभावका कारण सर्पदंश केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालन गर्न सशस्त्र प्रहरीसँग सम्झौता गरिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले विपद्को बेला उद्धार कार्यमा सहयोग पुर्‍याउन आवश्यक उपकरणहरू उपलब्ध गराउन इच्छुक रहेको बताउनुभयो। उहाँले राप्तीसोनारी गाउँपालिकाको कदमलाई सशस्त्र प्रहरी बललाई सुदृढ बनाउन सहयोगी कदमको रूपमा प्रशंसा गर्नुभयो।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदमा उद्धारका लागि एम्बुलेन्स उपलब्ध गराउनु आपतकालीन अवस्थामा राहतका लागि महत्वपूर्ण हुने बताउनुभयो। सशस्त्र प्रहरी उपरिक्षक क्षेत्रीले पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्यका लागि एम्बुलेन्सको ठुलो योगदान हुने धारणा व्यक्त गर्नुभयो।

यस कदमले राप्तीसोनारी गाउँपालिकालाई विपद व्यवस्थापनमा सशक्त बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button