तपाईँ सुन्दै हुनुहुन्छः

‘लागूऔषध प्रयोगकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’

नेपालगन्ज । लागूऔषध विरुद्ध काम गर्ने नेपालका प्रमुख संस्था मध्यको एक हो, रिकभरिङ्ग नेपाल । लागूऔषध प्रयोगकर्ताको हितमा काम गर्ने रिकभरिङ्ग नेपालले सातै वटा प्रदेशमा लागूऔषध प्रयोगकर्ता बिरामी हुन् र उनीहरुलाई उपचारको खाँचो छ भन्ने कुरालाई जोड दिँदै काम गरिरहेको बताएको छ ।

आज रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर रिकभरिङ्ग नेपालले गरिरहेको कामहरूका बारेमा जानकारी दिएको छ । रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा कुमारी जिसीले लागूऔषधका विषयमा नेपाल सरकारको दोहोरो नीतिका कारण काम गर्न असहज भएको बताउनुभयो । उहाँले रिकभरिङ्ग नेपालले भने लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेर्ने गरेको बताउँदै उनीहरुलाई लागू औषधबाट बाहिर निकाल्न, उनीहरुलाई एचआइभी, हेपाटाइटिस जस्ता रोगहरूबाट जोगाउने काम रिकभरिङ्ग नेपालले गरिरहेको बताउनुभयो ।

कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रवीण बिसीले लागूऔषध सम्बन्धि ऐन, नियमलाई सुधार्न रिकभरिङ्ग नेपाल लागिपरेको बताउनुभयो । बिसीले विश्व स्वास्थ्य सङ्गठनले समेत लागूऔषध प्रयोगकर्तालाई बिरामीको संज्ञा दिइसकेको अवस्थामा नेपाल सरकार भने अझै अलमलमा परेको जिकिर गर्नुभयो ।

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी महासचिव यशोदा ज्ञवालीले महिला लागूऔषध बिरामीका लागि झनै समस्या रहेको बताउनुभयो । उहाँले सरकारको ऐन नै बाझिने र सरकारले लागूऔषध बिरामीका लागि एउटा पनि सुधार गृह स्थापना गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा रिकभरिङ्ग नेपालले ६ महिनाको कार्यक्रम पनि सार्वजनिक गरेको छ । अगस्ट २०२४ देखि जनवरी २०२५ सम्म रिकभरिङ्ग नेपालले लुम्बिनी प्रदेशमा लागूऔषध बिरामीका लागि गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जसमा विभिन्न चरणमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको बैठक, छलफल तथा अन्तरक्रियाहरू रहेका छन् । उक्त कार्यक्रमको माध्यमबाट लागूऔषध बिरामीका समस्या पहिचान, उनीहरूको आवश्यकता तथा हक अभिकारका बारेमा ड्राफ्ट तयार पार्ने र स्थानीय सरकार तथा नेपाल सरकारलाई सो ड्राफ्टप्रति उत्तरदायी गराउने लक्ष्य लिइएको महासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button