तपाईँ सुन्दै हुनुहुन्छः

एमाले प्रदेश संसदीय दलले लागु गर्‍यो आचारसंहिता

दाङ । दाङ–नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मङ्गलवार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश सभा सदनको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दल उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

सस्तो लोकप्रियता आर्जन गर्ने कार्यमा लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, अनधिकृत आर्थिक प्रलोभन तथा भ्रष्ट्राचार जस्ता क्रियाकलापबाट मुक्त हुन आचार संहितामा प्रमुखताका साथ समावेश गरिएको छ । सबै तहका जनप्रतिनिधिका क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ । लैङ्गिक यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्ति जस्ता दुर्व्यवहार गर्न नपाइने, नैतिक आचरण, असल शासनका हरेक पक्षमा जिम्मेवार, पारदर्शी र कुशल जनप्रतिनिधिको रुपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवम् सामाजिक सञ्जालमा पार्टी नीति विपरीत क्रियाकलाप गर्न नहुने उल्लेख छ ।

प्रदेश सभाको नियमित बैठक तथा तोकिएको संसदीय समिति तथा उपसमितिका बैठकहरूमा अनिवार्य उपस्थित रहनुपर्ने, प्रदेश सभा संसदीय समितिहरूका कार्यसूची माथी भएका छलफल, बहसहरूमा भएका निष्कर्ष, निर्णयहरू दलको कार्यालयमा जानकारी दिने, वर्तमान संयुक्त सरकारले सबै दलहरूप्रति समन्वय र सहकार्यको नेतृत्व गर्दै नियमित रुपमा साप्ताहिक र मासिक कार्यप्रगती प्रतिवेदन हरेक जिम्मेवार पदाधिकारी, सदस्यहरु तथा मन्त्रीहरूले सम्बन्धित सरोकारवाला निकायमा बुझाउनुपर्ने, प्रदेश सरकार, मन्त्री परिषद्को काम, कर्तव्य अधिकार र प्रदेश सभा वा प्रदेश सभा दलप्रतिको जबाफदेहिताको पूर्ण पालना गर्नुपर्ने, प्रदेश सभामा उठेका विषय र प्रश्नोत्तरका सन्दर्भमा विषयगत मन्त्रालय तथा सरकारको जबाफदेहिता, पालना प्रदेश सभा नियमावली बमोजिम कार्यान्वयन गरेको हुनुपर्ने, तोकिएको परिभाषित तथा प्रशासनिक कार्यभार प्रति अनुत्तरदायी भई झिना मसिना कार्यमा संलग्न हुने, यी आचार संहिताप्रति सबै प्रदेश सभा सदस्य, पदाधिकारी र मन्त्रीहरू प्रतिबद्ध हुनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button