तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बाँकेले थाल्यो ‘चार महिने सङ्गठन सुदृढीकरण अभियान’

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ थालेको छ । भदौ २४ गतेदेखि पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान थालिएको हो । ‘ज्येष्ठ नागरिक, महिला र युवाको योगदान: पार्टी सङ्गठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएका छन् ।

अभियानको आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । जिल्लामा रहेका ८१ वटा वडाहरूको साङ्गठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, ज्येष्ठ नागरिक, महिला र युवाहरूको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी सङ्गठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायण प्रसाद गौडेलले बताउनुभयो । स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक सङ्गठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको छ ।

अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले पार्टीको सङ्गठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो । विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र प्रतिस्पर्धी दलहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाब, वैमनस्य र तिक्तता त्यागेर सङ्गठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको बताउनुभयो । नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

वडामा खटिएका प्रतिनिधिहरूले वडा कार्यसमितिको बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, सङ्गठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका विषयमा जानकारी लिनेछन् ।

सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताउनुभयो । जिल्ला सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button