राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिनुभएको हो ।
विषयगत समितिका सभापतिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उहाँहरू आजै आ–अफनेा समितिमा भएको निर्वाचनबाट निर्वाचित हुनुभएको हो ।
अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गर्नुभयो । शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू उपस्थिति हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्